ओखलढुंगा । ओखलढुंगास्थित खिजीदेम्बा गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा वापत पाउने रकम पालिकाले बनाएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् । खिजीदेम्बा गाउँकार्यपालिकाको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
पालिका अध्यक्ष वेदबहादुर रोकाले भने, ‘दुःख-कष्ट र आपत-विपदको यो घडीमा सबैका साथमा साथ दिँदै जनप्रतिनितिको तर्फबाट कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण कोषमा एक महिनाको सेवा सुविधावापत पाउने रकम जम्मा गर्ने निर्णय गरेका छौं ।’
पालिकामा ४९ जना जनप्रतिनिधि रहेका छन् । जनप्रतिनिहिरुको एक महिनाको सेवा सुविधा आठ लाख १० हजार रुपैया हुन्छ ।
विश्व यतिबेला कोरानाभाइरस (कोभिड–१९) को महामारीबाट गुज्रिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । विश्वका थुप्रै मुलुकहरुले जस्तै नै भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि नेपालले पनि यतिखेर लकडाउनको नीति अवलम्बन गरेको छ ।





