काठमाडौं । आइसिसी वल्र्डकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले हारेको छ । नेपालले पहिलो पटक होम ग्राउन्डमा खेलेको एक दिवसीय खेलमा नै हार बेहोरेको हो।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जित्दै बलिङ गरेको नेपाललाई ओमनले १ सय ९८ रनको लक्ष्य दिएको थियो ।जवाफी ब्याटिङमा उत्रेको नेपालले ४६.४ ओभरमा १७९ रन मात्रै बनाउन सक्यो। नेपालका ओपनिङ ब्याट्म्यान कप्तान ज्ञानेन्द्र मल्ल १ रन र पूर्व कप्तान पारस खड्का ३ रन बनाउँदै पेभिलिएन फर्किए । नेपालका लागि शरद भेषवास्करले सर्वाधिक ५५ रन बनाउँदा दीपेन्द्र सिंह एरीले ३६ रन बनाए ।
बलिङतर्फ ओमनका जेहशान मकसुदले १० ओभरमा ३ विकेट लिए भने खालिमुल्लाह र बिलाल खानले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको ओमनका लागि मोहम्मद नदिमले अर्धशतकीय पारी खेल्दै अभिजित ६७ रन बनाउँदा सन्दीप गौडले ३३ रन बनाए । त्यस्तै जेसन मक्सुदले २० रन बनाउँदा अक्विब इल्यासले १६ रन बनाएका थिए ।
त्रिकोणात्मक सिरीजको खेलतालिका अनुसार माघ २३ गते अर्थात् भोलि ओमन र अमेरिकाबीच खेल हुनेछ। यस्तै, माघ २५ गते नेपाल र अमेरिका भिड्दा माघ २६ गते भने नेपालले ओमनसँग पुनः प्रतिस्पर्धा गर्नेछ । माघ २८ गते अमेरिका र ओमन र माघ २९ गते नेपाल र अमेरिकाबीच खेल हुनेछ ।
लिग–२ विश्वकप पुग्ने रोडम्याप हो । जसमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन् । नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन् । अहिलेसम्म अंक तालिकामा अमेरिका शीर्ष स्थानमा रहेको छ ।





