काठमाण्डाै । ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४१ वटा मेनपावर कम्पनीमाथि एकैसाथ अनुसन्धान सुरू गरेकाे छ । वैदेशिक रोजगारीमा पठाएवापत गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको प्रारम्भिक रिपोर्टपछि विभागले मेनपावर कम्पनी र त्यसका सञ्चालकको सम्पत्ति छानबिन थालेको हो ।
उच्च स्रोतका अनुसार विभागले मेनपावर कम्पनी र सञ्चालकलाई अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूराेलाई दिएको छ । विभागबाट अनुसन्धान अधिकार पाएपछि व्यूराेले एकैसाथ ४१ वटै मेनपावर कम्पनीको सम्पत्ति खोज्न थालेको हो ।
अनुसन्धान थाल्ने क्रममा व्यूराेले ती सबै मेनपावर कम्पनीको सेयर, लागत, तथा सञ्चालकको विवरणसहितको प्रबन्ध पत्र उपलब्ध गराउन कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ।
यस्तै, आन्तरिक राजश्व विभागलाई कर बुझाए-नबुझाएको विवरण उपलब्ध गराउन ब्युरोले पत्राचार गरेको छ ।स्रोतका अनुसार सञ्चालक र मेनपावरको बैंक खाता उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरिएको छ ।
ती मेनपावर कम्पनीले हालसम्म कति व्यक्तिलाई वैदेशिक रोजगारीमा कुन-कुन देश पठाएका छन्, सोको विवरण वैदेशिक रोजगार विभागसँग मागिएको छ ।
यी सबै पत्राचारको बोधार्थ ब्युरोले विभागमा दिएको स्रोतले बतायो । विभागले प्रभावकारी रूपमा ती मेनपावरमाथि अनुसन्धान गर्न ब्युरोलाई निर्देशन दिएको जनाइएको छ । अनुसन्धानको सुइँको पाएर प्रमाण लोप गराउन सक्ने आशंकामा व्यूराेले ती मेनपावर कम्पनी र सञ्चालकलाई उच्च निगरानीमा राखेको छ।
अनुसन्धानमा रहेका मेनपावर कम्पनीहरू राजधानीमा नाम चलेका छन् । ‘कसले कति गैरकानुनी सम्पत्ति आर्जन गरेको छ भन्ने कुरा अनुसन्धानले देखाउँछ,’ स्रोतले भन्यो, ‘अहिले कसको कति दोष यकिन भन्न सकिएन ।’
यी मेनपावरमाथि हुँदैछ अनुसन्धान
अनुसन्धान थालिएका मेनपावर कम्पनीमा ट्रेन्स वर्ल्ड मेनपावर, इन्टरनेशनल मेनपावर रिक्युमेन्ट, ब्लू ओसियन ओभरसिज, खोजी रिक्युटमेन्ट सर्भिस, अल सेक्युर मेनपावर, संयोग ओभरसिज, युनाइटेड एचआर सोलुसन, निर्मल एचआर सोलुसन, सृष्टि ओभरसिज इम्पोइमेन्ट सर्भिस, गुडविल इन्टरनेसनल, ह्याप्पी नेपाल इम्पोइमन्ट, टाइगर ओभरसिज, भर्टेक्स एचआर, ओमेगा इन्टरनेशनल, एसभी एशोसिएट्स, पंगेनी ह्युमन रिसोर्सेज छन्।
त्यस्तै, सदिक्षा ओभरसिज, मास ह्युमन रिसोर्सेज, लिबर्टी एचआर कन्सलटेन्न, शेर्पा इन्टरनेशनल मेनपावर, ठैब राइज म्यानेजमेन्ट, प्रिज्म ओभरसिज इम्पोइमेन्ट, खोपेरसी इन्टरनेसनल, ग्रोथ प्रोसेस इन्टरनेसनल, अल सामा इन्टरनेसनल इम्पोइमेन्ट, डोस लिंक, एपोलो ओभरसिज सर्भिस, विज्ञान एभआर म्यानेजमेन्ट रहेका छन् ।
यस्तै, वर्ल्ड मेनपावर आइएनसी, डि प्रोटोन मेनपावर सप्लायर्स, लालधनुष इन्टरनेसनल सर्भिस, इन्टरनेसनल एचआर सोलुसन, इम्पोरियल ओभरसिज, राज ओभरसिज, जस्मिन ओभरसिज प्रा.लि. (अभिनाश इन्टरनेसनल), अलरहिम मेनपावर, लिभरपुल एचआर सोलुसन, हाइटेक एचआर सोलुसन, तिलिचो ओभरसिज, नाज ओभरसिज र जी एन्ड पी इन्टरनेसनल ओभरसिज छन् ।